ओखलढुङ्गा। ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन)मा उपचारको क्रममा ५३ दिने शिशुको ज्यान गएपछि शनिवार दिनभर अस्पतालमा तनाव उत्पन्न भयो। शिशुका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीले ज्यान गएको बताउँदै विरोध जनाए। आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरे।

मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने, अस्पतालले लिखित क्षमायाचना गर्नुपर्ने लगायतका माग राखेर  विरोध जनाएका थिए। यस प्रकरणमा उक्त समयमा आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश कटुवाललाई ४८ घण्टे लिखित स्पष्टीकरण सोधिएको छ। कटवाललाई आन्तरिक छानबिन व्यवस्थापन समितिले किन कारबाही नगर्ने ? भनेर लिखित रूपमै स्पष्टीकरण मागेको अस्पतालका निर्देशक डा.रोशन खरेलले बताउनुभयो।

अस्पतालका डा.जोन प्याजेटको संयोजकत्वमा चार सदस्यीय आन्तरिक छानबिन व्यवस्थापन समितिको गठन गरी कटुवाल सँग लिखित स्पष्टीकरण मागेको निर्देशक खरेलको भनाई छ। सिद्धिचरण नगरपालिका-५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रवार राती ९ः४५ बजे अस्पतालमा ज्यान गएको थियो। पिसाब रोकिएर सिकिस्त बिरामी भएपछि शुक्रवार आफन्तले बालिकालाई ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन)को इमर्जेन्सी कक्षमा पुर्याएका थिए।

इमर्जेन्सी वार्डमा रहेका चिकित्सकले शिशुलाई सामान्य चेकजाँच पनि नगरी बहिरङ्ग विभाग तर्फ पठाएको बुबा डोम प्रसाद दाहालको भनाइ छ। बहिरङ्ग विभागमा लामो समय सम्म लाइनमा बसेर बच्चाको चेक जाँच गर्दा विभागका चिकित्सकले पुनः आकस्मिक कक्षमै लगेर उपचार गराउनु भनेपछि आकस्मिक कक्षमा लगिएको दाहालले बताउनुभयो। इमर्जेन्सी कक्षमा पुर्याउँदा बच्चाको श्वासप्रश्वासमा गम्भीर समस्या भइसकेको थियो’ दाहालका आफन्त देवकुमार दाहालले बताउनुभयो।

बालिकालाई उपचारका लागि समयमै अस्पताल ल्याइएको भए पनि अस्पतालको लापरबाहीका कारण ज्यान गएको दाहालको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0