हाङझाउ। नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ।
जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान भएको खेलमा जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी विशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा सबै विकेटको क्षतिमा ४१ रनमा समेटियो। यो विश्व टी-२० क्रिकेटमा कीर्तिमानी ठूलो जित हो। नेपालले यस जितमा चार विश्व कीर्तिमान बनायो।
यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध दुई सय ५७ रनको जित निकालेको थियो। मङ्गोलियाका दावासुरेनले २३ बलमा दुई चौकासहित सर्वाधिक १० रन बनाउनुभयो। अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। मंगोलियाको टी-२० मा यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।
बलिङमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रन बनाएको थियो। यो लक्ष्य विश्व टी-२० अन्तर्राष्ट्रियमा हालसम्मकै ठूलो हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान दुई सय ७८ रन बनाएका थिए।
नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गर्नुभयो। कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित अविजित एक सय ३७ रन बनाउनुभयो।
दीपेन्द्रसिंह ऐरीले १० बलमा आठ छक्कासहित अविजित ५२ रन बनाउनुभयो । ३४ बलमै सतक प्रहार गरेसँगै कुशल टी-२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमानी ब्याट्सम्यान बन्नुभयो।
यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा बनेको थियो। भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हान्नुभएको थियो।
यस्तै कप्तान राहित पौडेलले २७ बलमा दुई चौका र ६ छक्कासहित ६१ रन बनाउनुभयो। तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले एक सय ९३ रनको साझेदारी गर्नुभयो। यो टी-२० मा नेपाली ब्याट्सम्यानले हासिल गरेको हालसम्मको उच्च साझेदारी हो।
दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन जोड्दै विश्व कीर्तिमान बनाउनुभयो। उहाँले नौ बलमा अर्धशतक हान्दै नयाँ विश्व कीर्तिमान रच्नुभएको हो। दीपेन्द्रले यसअघि भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोड्नुभएको हो।
ओपनर कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन बनाउनुभयो। मङ्गोलियाविरुद्ध कप्तान रोहित पौडेलले पनि १९ बलमै अर्धशतक पूरा गर्नुभयो। समूह ए मा रहेको नेपालले अब दोस्रो खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ।