स्याङ्जा। २० वर्ष उमेर पुगेपछि बिहेवारि गर्ने कानुनमा लेखिएको छ, तर यहाँ बिहे गर्ने उमेर पहिल्यै सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख वशुन्धारा शर्माले आब २०७९-८० मा एक हजार १६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर औषधि तथा उपकरण प्रयोग गरेर सुरक्षित गर्भपतन गराएकाका मध्ये ६३ जना २० वर्ष भन्दा कम उमेका रहेको बताउनुभयो।
२० वर्ष मुनिका १८ जनाले वालिङ नगरपालिका, पुतली बजार नगरपालिकामा ११ जना, भीर कोट नगरपालिकामा ११ जना, आँधी खोला गाउँपालिकामा सात जनाले सुरक्षित गर्भपतन गराएका छन्।
यस्तै चाप कोट नगरपालिकामा पाँच जना, हरिनाश, अर्जुन चौपारी र बिरुवा गाउँपालिकामा तीन तीन जना २० वर्ष उमेर नपुगेकाले गर्भपतन गराएका छन्।
यस्तै काली गण्डकी गाउँपालिकामा दुई जना कम उमेरकाले गर्भपतन गराउँदा गल्याङ नगरपालिकामा र फेदी खेला गाउँपालिकामा भने २० वर्ष उमेर नपुगेकाले सुरक्षित गर्भपतन नगराएको शर्माले बताउनुभयो।
कार्यालय प्रमुख शर्माले औषधि खुवाएर गराइने सुरक्षित गर्भपतन सेवा सजिलो सुलभ भएकाले यो पद्धतिको प्रयोगकर्ता बढ्दै गएको बताउनुभयो।
सुरक्षित गर्भपतन गराउने सङ्ख्या धेरै रहेको बताउँदै शर्माले निजी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउनेहरूको सङ्ख्या जिल्ला स्वास्थ्यको तथ्याङ्क भन्दा अत्यधिक धेरै रहेको बताउनुभयो।
उमेर नपुग्दै विवाह र बिहे पहिल्यै असुरक्षित यौन सम्पर्कले गर्दा सुरक्षित गर्भपतन गर्ने गरेको बताउँदै शर्माले निजी अस्पताल तथा क्लिनिकमा पुगेर साना उमेरकाले गर्भपतन गराउनेको सङ्ख्या सोचे भन्दा धेरै रहेको दाबी गर्नुभयो।
कानुनले दिएको उमेर भन्दा पहिल्यै बिहे गर्नेको सङ्ख्या अत्यधिक रहेको बताउँदै शर्माले सचेतनाको अभावले यो अवस्था देखिएको बताउनुभयो।
सानैमा विवाह गर्नेका कारण समस्या धेरै रहेको बताउँदै शर्माले सचेतना अहिलेको आवश्यकता रहेको बताउनुभयो।
गर्भपतन आमाको स्वास्थ्यको लागि जोखिम रहेको बताउँदै शर्माले गर्भपतन न्यूनीकरण गर्न सके आमाको स्वास्थ्य साथै आर्थिक भारमा कमी आउने बताउनुभयो।
बिहे पहिल्यै असुरक्षित यौन सम्पर्क गर्नेको गर्भपतन गर्नेको सङ्ख्या अत्यधिक रहेको बताउदै सामाजिका रूपमा बच्नको लागि निजीमा पुग्ने गरेका छन्।
साभार : गोरखापत्र अनलाइन