काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल गोरखाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “ठुला, साना जो भएपनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ। अनुसन्धानमा बिराम लाग्यो नठान्नु होला। अनुसन्धान जारी छ।”
तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उहाँको भनाइ थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो। “जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन”, उहाँले भन्नुभयो।
पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताउनुभयो। अनुसन्धानको प्रक्रिया अगाडी बढाउँदा जरैसम्म पुग्ने प्रहरी प्रशासनलाई निर्देशन दिएको उहाँले दाबी गर्नुभयो। विमानस्थलबाट ठुलो परिमाणमा सुन भित्रिएको कुरालाई सरकारले अत्यन्त गम्भीर रूपमा लिएको भन्दै विमानस्थलको व्यवस्थापनका लागि पनि काम सुरु भइरहेको बताउनुभयो।
‘‘हामीले यसलाई निकै गम्भीर र संवेदनशील रूपमा लिएका छौँ। प्रधानमन्त्रीकै उपस्थितिमा हामीले एयरपोर्टको अवलोकन गरेर नयाँ ढङ्गले व्यवस्थापन गर्ने भन्ने सोच बनाएका छौँ,’’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो,‘‘अहिलेसम्म आगमन कक्षमा कुनै पनि लगेज स्क्रिनिङ अथवा कार्गोको सामान स्क्रिनिङमा होस्, प्रहरीको उपस्थित नै नहुने व्यवस्था छ। यसलाई परिवर्तन गरेर प्रहरीलाई पनि त्यहाँ उपस्थित गराउने प्रयत्न भइरहेको छ।’’
सरकारको कामले अहिले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको उहाँले बताउनुभयो। तर अहिले भएका सबै काम पर्याप्त नभएको उहाँको भनाइ छ। आमजनताको जीवन फेर्ने गरेर शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटोघाटो, बिजुली, खानेपानीलगायतका आवश्यकता पुरा गरी मुलुकलाई समृद्धिको दिशा तिर अघि बढाउन वर्तमान सरकारले काम गरिरहेको छ।