काठमाडौं। प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ। मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ। अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको छ।
विशेषगरी देशका पश्चिमी भेगका विमानस्थलमा उडान प्रभावित भएको एयरलाइन्सले जनाएका छन्। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले इनरुट वेदरका कारण पोखरा, भरतपुर भैरहवालगायत गन्तव्यको उडान डिले भएको छ । आज तुुम्लिङटार विमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन।
यी प्रदेशमा भइरहेको छ मनसुनी वर्षा
नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ। देशको पूर्वी तथा मध्य भू-भागमा मनसुन प्रणालीको प्रभाव रहनाका साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसका कारण अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।
काठमाडौँमा साँझदेखि हल्का वर्षा भइरहेको छ। आज कोशी प्रदेश र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षा भएको छ । बदलीसँगै वर्षाका कारण सो क्षेत्रको उडान प्रभावित भएको जनाइएको छ।
महाशाखको पछिल्लो विवरणमा आइतबार सबैभन्दा बढी ताप्लेजुङ ४७, ओखलढुङ्गा ४०, धरान २२, पोखरा ३२ र जिरी २६ मिलिमिटर वर्षा मापन गरिएको छ। नेपालमा यस वर्षको मनसुन प्रणाली गत जेठ ३१ गतेदेखि नेपालको पूर्वी भाग भएर भित्रिएको हो। रासस