सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नगरबस आज बाट संचालनमा आएको छ। नगरबस संचालनमा आएसंगै महंगो भाडादरका कारण मर्कामा परेका वीरेन्द्रनगरबासीलाई रहात मिलेको छ। अब वीरेन्द्रनगरमा यात्रुहरुले मात्र २० रुपैयाँमा धुलियाबीटबाट बाङ्गेसिमलसम्मको यात्रा गर्न सक्नेछन्।
वीरेन्द्रनगर नगरपालिकासंगको समन्वयमा सुर्खेत सयुक्त यातायात व्यवस्थापनले १० वटा नगर माइक्रोबस संचालनमा ल्याएको हो। नगरबसको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले नगरबस सेवा संचालनमा आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सयुक्त यातायात संगको सहकार्यमा नगरबसलाई थप स्तरिय बनाउने बताइन्।
पहिलो चरणमा नगरबस वीरेन्द्रनगरको धुलियाविट, एयरपोर्ट, मंगलगढी चोक, यरिचोक, मुलपानी हुदै प्रदेश अस्पताल, हिलेखाली र बाङ्गेसिमल चोकसम्म संचालन हुनेछ। साथै आगामी दिनमा नगरबस र रुटहरुपनि थप्दै जाने सुर्खेत काक्रेविहार यातायात प्रालीका अध्यक्ष रमेश कुमार सापकोटाले बताए । उनका अनुसार यात्रुहरुलाई सहज र सहुलियत यात्रा दिन २० रुपैयाँ भाडादर तय गरिएको छ।
नगरबसको उद्घाटन गर्दै नगरप्रमुख मोहनमाया ढकालले २० रुपैयाँ तिरेर बसपार्कदेखि धुलियाबिटसम्मको यात्रा गरिन। नगरबसले सहज र सुलभ सेवा दिएपछि यात्रुहरुपनि खुसी भएका छन्।