काठमाडौं। सोमबार दिउँसोदेखि सामाजिक सञ्जालमा यात्रीको बाइक भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा यात्री बाइकले ढाड भाँच्चिएर विश्व कीर्तिमान राख्यो भन्दै ट्रोल बनाइएको छ।
तस्वीरमा गुड्दै गरेको मोटरसाइकलको पाँग्रा खुस्केर सडकमा पल्टिएको देख्न सकिन्छ। यो तस्वीरलाई लिएर अहिले व्यापक आलोचना पनि भइरहेको छ भने धेरैले नेपाली ब्राण्डमाथि नै प्रश्न उठाइरहेका छन्।
समाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया आएपछि यात्रीले सामाजिक सञ्जाल मार्फत कुनै दुर्घटना नभएर परीक्षण गर्दाको तस्बिर भएको दाबी गरेको छ । ‘परिस्थिति नबुझिकन इन्टरनेटमा केही तस्वीरहरु फैलिएका छन्, यात्री बाइकको नयाँ भागका डिजाइन र प्रणालीको लागि हामीले निरन्तर परीक्षण गरिरहेका हुन्छौँ, सोही क्रममा हाम्रा इन्जिनियरले बाइकको नयाँ भागको परीक्षणका गर्दा त्यसको नतिजा राम्रो भएन, हामी आशा गर्दछौं कि यसले फैलिएको भ्रम हटाउन मद्धत गर्छ होला’ यात्रीले जारी गरेको सूचनामा भनिएको छ।
यो तस्वीर कम्पनीका इञ्जिनियरले परीक्षण गर्दा नै भएको कम्पनीको दाबी छ। तर, सामाजिक सञ्जालमा भने कुनै व्यक्तिले खरिद गरिसकेको मोटरसाइकल भएको बताइरहेका छन् । जुन गलत भएको कम्पनीको दाबी छ।
कम्पनीले यात्री पी–१ मा नयाँ पाट्स र सिस्टम परीक्षण गरिएको बताएको छ। यस्तै, यात्रीले सत्यतथ्य नबुझि भ्रममा नपर्न समेत उपभोक्तालाई आग्रह गरेको छ। नेपालमा नै बनेको पहिलो विद्युतीय बाइक हो यात्री मोटरसाइकल । नेपालमा कानून नहुँदा दर्ता हुन नसकेको यात्रीले केही दिन मात्र नेपालमा दर्ता भएको थियो।
यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’ को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता पाएकोे हो।
नेपालमा दर्ता हुन नसकेपछि यात्रीका लगानीकर्ता विदेश पलाएन भएको भन्दै समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा कानुन नै बनाएर दर्ता गरिएको थियो।
गत बैशाख १० गते प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंखरदास बैरागीलाई नेपालमा नै उत्पादन भएका सवारी साधनको दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका थिए।
उनको निर्देशन अनुसार कानुन नै बनाएर सरकारले यात्रीलाई नम्बर प्लेट दिएको हो।
नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्ने व्यवस्था सरकारले गरेको छ।