
सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मिस नेपालको आगामी संस्करणका लागि अडिसन हुने भएको छ। सोमबारदेखि अडिसन खुला हुने भएको हो।
आयोजक संस्था द हिडेन ट्रेजरका अनुसार स्थानीय प्रतिस्पर्धीलाई समेत अन्तिम अडिसनमा समेट्नका लागि प्रदेशहरूमा समेत अडिसन गर्न लागिएको हो। जस अनुसार अन्तिम अडिसनमा ७ वटै प्रदेशको प्रतिनिधित्व हुने छ।
आयोजक द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाल प्रतियोगितालाई फराकिलो बनाउँदै सबै प्रदेशमा अडिसन गर्न लागिएको बताए। उनले भने, ‘हामी कर्णालीका स्थानीय प्रतिस्पर्धीलाई समेट्ने उद्देश्यसहित कर्णालीमा आएका हौँ।’
कार्यक्रमका लागि मिस नेपाल प्रियन्कारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का पनि वीरेन्द्रनगरमा आएका छन्। कार्यतालिका अनुसार आज आइतबार अडिसन अन्तर्गत ओरिएन्टेशन र भोलि सोमबार मुख्य अडिसन हुने छ।


























