
सुर्खेत। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा होलिका दिन सोमबार सुर्खेतमा बृहत हरियाली होली पर्व मनाइएको छ । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण मासिदै गएको हरियाली फर्काउने उद्देश्यले सोमबार होलीको दिनमा वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्मको मुख्य सडक क्षेत्रको बिचमा रोपिएका विभिन्न प्रजातिका विरुवाहरुको गोडमेल गरेर मनाईको छ । क्लिन एण्ड ग्रिन सुर्खेतका अभियान्ता डाक्टर नवराज केसीको अगुवाईमा संरक्षणको अभावमा सुक्दै गएका बोटविरुवाको गोडमेल गरिएको हो ।
विद्यार्थी, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको उक्त कार्यक्रमको मुख्य उद्देश्य बोटविरुवाको संरक्षण गरेर सुर्खेतको मुहारमा हरियो रंग दल्नु रहेको डाक्टर केसीले बताए ।
‘सुर्खेतमा जति पनि मानिसहरु आउनुहुन्छ । सबैभन्दा पहिला हेर्ने भनेको मुख्य सडक हो । अर्थात सुर्खेतको मुहार यही हाइवे बन्दै गएको छ । मुख्य आकर्षणको केन्द्रमा रोपिएका बिरुवाहरु संरक्षणको अभावले सुक्दै गएका छन् ।’ डाक्टर केसीले भने, ‘हामीले यो सडक अर्थात सुर्खेतलाई कुन रंग दल्ने भन्ने हो । हामीले आउने पुस्तालाई प्रेरणा दिने गरी सुर्खेतको अनुहारमा हरियो रंग अर्थात हरियाली पार्ने हाम्रो योजना हो ।’ पछिल्लो समय रत्न राजमार्गको वीरेन्द्रनगर खण्डमा सडकको बिचमा रोपिएका विभिन्न प्रजातिका विरुवाहरु संरक्षणको अभावमा सुक्न थालेका छन् ।


























