सुर्खेत। नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति बिना सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले मत नदिएकै कारण एमाले नेतृत्वको सरकार ढलेर सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको थियो । अहिले फेरि नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिबद्धता मागेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन नसकिने सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि विश्वासको मत लिने कार्यक्रम रहेको छ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । अहिले कांग्रेसका १९ सांसद छन् । शाहलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीका चार सांसद छन् । प्रदेश सभामा माओवादीका सभामुख सहित ११ र नागरिक उन्मुक्तिका सात सांसद छन्। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत भने पुग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0