सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का बुधबार गृहजिल्ला सुर्खेत आएका थिए। उनले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नै सरकार अगाडि बढ्ने बताएका छन्।
नेपाली काँग्रेसका उपसभापति खड्काले विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै ‘प्रचण्ड’को नेतृत्वमा नै सरकार अगाडि बढ्ने बताएका हुन्।
काँग्रेसलाई राष्ट्रपति दिने प्रचण्डको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी ओलीले अस्विकार गरेपछि एमाले र माओवादीमा दरार आएको बताउँदै उनले भने, “प्रचण्डलाई नेपाली काँग्रेसले विश्वासको मत दिएको दिनदेखि नै प्रचण्ड राष्ट्रिय सहमतीको बाटो अगाडि बढेका थिए।
ठुलो दल काँग्रेसलाई राष्ट्रपति दिनुपर्छ भन्ने प्रचण्डको प्रस्ताव एमालेले स्विकार नगरेपछि यो परिस्थिती सिर्जना भएको हो। एमालेले प्रचण्डको प्रस्ताव अस्विकार गरेपछि ८ दलको निर्णय अनुसार नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायौँ ।”