डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकामा आज सोमबार जिप दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन्।
कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका –२ का ५० वर्षीय वासुदेवी तिरुवाको मृत्यु भएको छ। चालकसहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ।
ग्रामीण कच्ची सडकको परशुराम नगरपालिका –३ मट्यौलामा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो। उहाँका अनुसार जिप सडकमा पल्टिएको थियो । जिपमा चालकसहित ११ जना यात्रु सवार रहेका थिए।
जिप पछाडि गर्नेक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनास्थल परशुराम नगरपालिका मुकाम जोगबुडा लालढुङ्गाबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ । लालढुङ्गा बजारमा इलाका प्रहरी कार्यालय रहेको छ। इलाका प्रहरी कार्यालयबाट उद्धारमा खटिएको टोलीले प्रारम्भिक जानकारी दिएको डिएसपी भट्टले बताउनुभयो। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।