मैले कर्णालीलाई चाँदीको घेरा देखेको छु। कर्णाली सुन खानीमा नुन खोजिरहेको छ। कर्णाली विगतमा खस साम्राज्यको राजधानी हो। कर्णालीले बाँकी मुलुकलाई समृद्धि र विकासको सन्देशमात्र नभइ त्यसको मोडेल प्रस्तुत गर्ने सामथ्र्य राख्न सक्छ। कर्णाली सम्भावनाको सरोबर हो। कर्णाली बदल्न सकिन्छ, यो मुलुकको विकास र समृद्धिको शिरोधार्य कर्णालीबाट हुन्छ।

कर्णालीमा केवल दु:खका कथाहरू मात्र लेखिँदैनन्, पीडाका गीतहरूमात्र गाइँदैनन्, केवल आँशुको रारामात्र होइन कर्णाली। कर्णालीका सपनाहरू से–फोक्सुण्डोमा डुबिरहेका छैनन्। कर्णाली सम्भावनाको सगरमाथा हो भनेर संघर्ष गरिरहेको एक जना राजनीतिकर्मीमा रूपमा म आफूलाई चित्रण गर्न चाहन्छु। म भगौडा हैन, म यहाँको धर्ती पुत्र हुँ। कर्णालीको माटोमा अन्तिम सास लिन चाहन्छु। कर्णालीलाई फुलाउन सकिन्छ, फलाउन सकिन्छ, मुलुकको हाँसोको सुरुवात कर्णालीबाट सुरु गर्न सकिन्छ। गरिबीको दुष्चक्रममा फसेको मुलुकलाई एउटा समृद्धिको नयाँ चक्रको सुत्रपात गर्नसक्ने कर्णाली प्रदेश बनाउन सकिन्छ भन्ने पक्षमा छु।

थोमस् एल्बा एडिसनले हजारौँ पटकको प्रयासमा चिमको आविष्कार गरेका थिए, तर मैले कक्षा ९ मा पढ्दामात्रै बिजुली बत्ती भोग्न पाएँ। सबै साधनस्रोत अरु कसैका लागि कर्णालीले दिँदैछ, कर्णालीका साधनस्रोत हाम्रा लागि होइनन् भन्ने बुझाई स्थापित भएको छ । वास्तवमा समय बदलिएको छ। कर्णालीको साधनस्रोत कर्णालीवासीका लागि हुनुपर्छ। अर्थात् रैथाने अधिकार संवैधानिक व्यवस्थामा पनि सुनिश्चित भएको छ। हामीले कर्णालीका प्रचुर सम्भावनाहरूलाई कर्णालीका जनतामा रिफ्लेक्ट गर्नका लागि संघीयताको अभ्यास गरिरहेका छौँ। र, अझ संघीयताको सर्वोत्तम अभ्यास कर्णालीबाट गर्नुपर्छ। विकास भन्ने कुरा कसैले बक्सिस दिने होइन, हुकुम प्रमाङ्गीबाट नागरिकको जीवनमा रातारात परिवर्तन आउने कुरा पनि होइन।

केन्द्रले कर्णालीका लागि विशेष नीति योजनामा सहयोग गर्नुपर्छ। कर्णालीलाई विशेष प्रदेशको रूपमा स्थापित गर्नका निमित्त विशेष बजेट, कार्यक्रम केन्द्र सरकारले निर्धारण गर्नुपर्छ। र, सम्पूर्ण कर्णालीवासी कर्णाली समृद्धिका लागि अग्रसर हुनुपर्छ। कर्णालीको साधनस्रोतको हकदार पनि हामी हो, उपयोग पनि हामीले नै गर्नुपर्छ र साधनस्रोतको उपयोगिताको नेतृत्व पनि हामीले नै गर्नुपर्छ। कर्णाली, भेरीजस्ता नदीहरूमा बगिरहेको डलरलाई कर्णालीका जनताको सुखी जीवनमा रिफ्लेक्ट गर्ने खालको कार्यक्रम एउटा अभियानका रूपमा अघि बढाउनैपर्छ ।

कर्णाली सम्भावनाको सरोबर हो भन्ने कुरा काठमाडौंलाई अझै बुझाउन सकिएको छैन । ‘कर्णालीमा परिवर्तन भएकै छैन र कर्णाली बदलिसक्यो’ यी दुई वटै कुरा गलत छन् । केही पनि नभएको कर्णाली होइन । केही अवश्य भएको छ तर हामीले सोचेजस्तो कर्णाली बन्न सकिरहेको छैन । यही नै वैज्ञानिक बुझाई हो । द्वन्द्ववादी बुझाई पनि यही हो । कर्णालीका सम्भावनालाई रियालिटीमा बदल्नका लागि, प्रतिबिम्बित गर्नका लागि काठमाडौंलाई हामीले कसरी झकझक्याउने, कसरी कन्भिन्स गर्ने भन्ने हो । कर्णालीमा केही पनि हुँदैन भन्ने जुन भाष्य बनिरहेको छ, कर्णाली असम्भवको भूमि हो भन्ने बुझाई काठमाडौंको छ । त्यसको उदाहरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । म पहिलो पटक सांसद हुँदै गर्दा एउटा पनि डाक्टर नबस्ने कर्णाली जुम्लामा हामीले स्वास्थ्य विश्वविद्यालयको परिकल्पना गर्‍यौँ । अहिले नुवाकोट, घादिङले राम्रो डाक्टर पाउँदैनन् तर कर्णालीमा १०० प्लस डाक्टर अहिले पनि काम गरिरहेका छन् । हिजो बिरामी पठाउने कर्णाली आज डाक्टर पठाइरहेको छ । स–गर्व भन्न सकिन्छ कि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जो भाष्य बनिरहेको छ, त्यसको ब्रेकर हो ।

कर्णालीमा सम्भव छ, गरे हुन्छ, हिँडे पुगिन्छ, छरे उम्रिन्छ, रोपे फल्छ भन्ने एउटा दृष्टान्त हो । काठमाडौंले अब कर्णालीबाट सिक्नुपर्छ । किनभने काठमाडौं मोडेल असफल भइसक्यो । काठमाडौंको विकास मोडेल, आर्थिक मोडेल र त्यहाँको राजनीतिक मोडेलका विषयमा रि–थिङ्क गर्ने बेला आइसक्यो । कर्णाली भर्जिन छ, कर्णाली सम्भावनाको केन्द्र हो । अब कर्णाली मोडेल स्थापित गरौँ । जसले गर्दा अभावको कथाहरू सुनाउने, विपन्नताको पर्याय बन्ने, कम आयु र कम प्रतिव्यक्ति आयको समाचार बन्ने कर्णाली होइन, बरु सम्पन्नता सिकाउने, सुख र खुसीको सन्देश फैलाउने तथा सबैभन्दा ज्यादा प्रतिव्यक्ति आयको गर्विलो कर्णाली निर्माण गर्न सकिन्छ । समयले यही आह्वान गरिरहेको छ । र, कर्णाली मोडेल चाहेर–नचाहेर पनि काठमाडौं र केन्द्रीय सत्ताले स्वीकार्नुपर्छ । जतिबेलासम्म स्वीकार गर्दैन, त्यतिबेलासम्म कर्णालीवासी गरिबीको दुष्चक्रबाट जगल्टिन्छौँ र दलदलमा फस्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0