काठमाडौँ। दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा. कार्कीले अब प्रतिनिधि सभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित हुनुभएको हो । आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उहाँ जनताबाट अनुमोदन हुनुभएको छ।
पेसाले चिकित्सक उहाँको ध्यान सरकारमा रहेर स्वास्थ्यसेवा सुधार्नेतर्फ छ। त्यसैका लागि उहाँको पार्टी सरकारमा सहभागी भएको उहाँको धारणा छ। सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा. कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राख्नुभएको छ । उहाँले आफू सरकारमा गए नेपाली जनतालाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने पहिलो काम नै रहेको बताउनुहुन्छ।
कति मानिसले गरिबीका कारण स्वास्थ्य सेवा पाउन नसकेको उहाँ आफैँले देख्नुभएको छ। ती गरिब र निमुखा पैसाको अभावले उपचार सेवाबाट वञ्चित हुन नपरोस् र सबै नेपालीले संविधानको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन उहाँ आफू लागिपर्ने बताउनुहुन्छ।
यस्तै उहाँको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत छ। छिमेकी मुलुक भारत र चीनमा बीएफ–७ नामक नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा पनि नआउला भन्न सकिन्न। त्यसैले उक्त नयाँ भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि आफ्नो कार्ययोजना बनाइरहनुभएको छ।
डा.कार्की मुलुकका परम्परागत राजनीतिक दलको नेतृत्वले मुलुकलाई सही गन्तव्यमा लैजान नसकेको पनि टिप्पणी गर्नुहुन्छ। यस्तो अवस्था भएपछि आफू नै राजनीतिमा आएको उहाँ बताउनुहुन्छ।
आफूभन्दा वरिष्ठ चिकित्सक भए पनि उहाँबाट राम्रो स्वास्थ्य सेवा दिन नसकिरहेको, गुणस्तरीय स्वास्थ्य सेवा जनतासमक्ष नपुगेकोले समग्र स्वास्थ्य सेवालाई सुधार्नका लागि चिकित्सक पेसा सम्भव नभएपछि आफूले राजनीति रोजेको उहाँको तर्क छ।